२०८२ भाद्र ३१ गते

रेमिट्यान्स बढेको बढ्यै : एक महिनामै भित्रियो पौने २ खर्ब बढी

बैंकिङ खबर/ नेपालको अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण) सबैभन्दा बलियो आधार बनेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउन महिनामा मात्र करिब पौने २ खर्ब रुपैयाँ (१७ खर्ब ७ अर्ब ४१ करोड) रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको सोही महिनाको तुलनामा २९.९ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष साउनमा रेमिट्यान्स १३ खर्ब ६ अर्ब ६० करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १९ खर्ब ३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८ अर्ब ८ करोड रहेको थियो ।

एक वर्षमै १७ खर्बभन्दा बढी

एक वर्षको अवधिमा १७ खर्ब भन्दा बढी विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भइ १७ खर्ब २३ अर्ब २७ करोड पुगेको भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको असार महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो । गत वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।

विदेशिनेको लहर

समीक्षा अवधिमा मात्रै ४४ हजार ४६६ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिएका छन् भने २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही अवधिमा यो संख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ थियो।

यस वर्षको वृद्धिले वैदेशिक रोजगारीमा जाने प्रवृत्ति अझै तीव्र रहेको  स्पष्ट देखाउँछ। पूरा आर्थिक वर्ष २०८१/८२ मा अन्तिम स्वीकृति लिनेको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः स्वीकृति लिने ३ लाख ३३ हजार ३०९ छन्।

अर्थतन्त्रको सहारा रेमिट्यान्स

नेपालको श्रम बजारमा वार्षिक करिब पाँच लाख युवा कामको खोजीमा बजारमा प्रवेश गर्छन् । आन्तरिक बजारमा पर्याप्त रोजगारीको अवसर नहुँदा दैनिक सरदार २ हजार सक्रिय जनशक्ति कामको खोजीमा विदेशिने गरेका छन् । स्वदेशमै रोजगारीसँग सम्बन्धित नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफ्नो आयको बचत स्वदेशमा पठाउने गरिएको रकमलाई ‘रेमिट्यान्स’का नामले चिनिन्छ । यो रकमले नेपालको अर्थतन्त्र चलायमान बनाउन तथा त्यस्ता श्रमिकको परिवारको जीवनस्तर माथि उठाउनसमेत ठूलो सहयोग पुगेको छ ।

मुलुकमा भित्रिएको रेमिट्यान्सले विदेशी मुद्रा सञ्चितिमा मात्र टेवा पुगेको छैन । नेपालीको प्रतिव्यक्ति आय बढेर १३८१ डलर पुग्नुमा, गरिबीको रेखामुनि रहेका जनसंख्या ४२ प्रतिशतबाट घटेर १६ प्रतिशतमा झर्नुमा, मानव विकास सूचकांक न्यून मानव विकासदेखि मध्यम मानव विकास सूचकांकमा पुग्नुमा, शिशु मृत्युदर घट्नु तथा औसत आयु बढ्नुजस्ता सामाजिक एवं आर्थिक अवस्थामा आएका सुधारका पछाडि सबैभन्दा बढी योगदान रेमिट्यान्सको नै देखिन्छ ।

विश्व बैंकको प्रतिवेदनअनुसार जनसंख्याको अनुपातमा आप्रवासी कामदार पठाउने दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा छ । अफगानिस्तानले आफ्नो जनसंख्याको १३ दशमलव पाँच, श्रीलंकाले आठ दशमलव आठ र नेपालले आठ प्रतिशत आप्रवासी कामदार पठाएको छ । कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) आकारको तुलनामा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा भने नेपाल विश्वमै अग्रस्थानमा छ ।

एक अध्ययनअनुसार नेपालका करिब ६० प्रतिशत घरधुरीमा विदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स भित्रिने गरेको छ । आम्दानीका अन्य वैकल्पिक ठोस स्रोतको अभावले गर्दा धेरै घरपरिवार यसैमा निर्भर रहेका छन् ।

रेमिट्यान्स वृद्धिले तत्काल देखिएका फाइदा

वैदेशिक मुद्रा सञ्चिति सुरक्षितः आयातका लागि आवश्यक विदेशी मुद्रा सहज।

उपभोग बढेको : ग्रामीण क्षेत्रमा समेत उपभोग क्षमता बढेको।

भुक्तानी सन्तुलनमा सुधार : रेमिट्यान्सकै कारण व्यापार घाटा केही हदसम्म व्यवस्थापन।

दीर्घकालीन असर मिश्रित छन् । रेमिट्यान्सले तत्काल अर्थतन्त्रलाई जोगाए पनि उत्पादन र रोजगारीभित्रै संरचनागत सुधार नगरी दीर्घकालीन टिकाउ अर्थतन्त्र सम्भव हुँदैन ।

युवाको पसिना, परिवारको जीवन

वैदेशिक रोजगारीमा गएका युवाको पसिनाले नेपालको अर्थतन्त्र चलिरहेको छ । कतिपय गाउँघरमा घर बनाउने, छोराछोरी पढाउने, स्वास्थ्य उपचार गर्नेदेखि नयाँ व्यवसाय सुरु गर्नेसम्मका काम रेमिट्यान्सकै सहारामा भइरहेका छन् । तर, अर्कोतर्फ हजारौँ परिवार टुक्रिएका छन्। आमा–बाबु विछोडिएका छन्, श्रीमान्–श्रीमती टाढा बस्न बाध्य छन्। कतिपय नेपाली कामदार दुर्गम र जोखिमपूर्ण क्षेत्रमा ज्यान गुमाइरहेका खबर पनि आइरहन्छन्।

भविष्यको चुनौती

१. निर्भरता बढ्दै : नेपालको कुल आम्दानीमा रेमिट्यान्सको हिस्सा अस्वस्थकर रूपमा बढ्दो।

२. उत्पादन कम, उपभोग बढी : पैसा आयातमा खर्च हुने, घरेलु उत्पादनमा कमी।

३. युवा पलायन : श्रमशक्ति निरन्तर विदेशिने, देशभित्र श्रम अभाव।

४. दिगोपनामा प्रश्न : यदि कुनै कारणले रेमिट्यान्स घट्यो भने अर्थतन्त्र संकटमा पर्ने।

समाधान के ?

रेमिट्यान्सलाई उपभोगभन्दा बढी उत्पादनशील क्षेत्रमा लगानी गर्ने।

उद्योग, कृषि र प्रविधि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने।

वैदेशिक रोजगारमा जाने युवालाई सीपमूलक प्रशिक्षण दिने, ताकि उनीहरूले बढी मूल्य भएको काम पाउन सकून्।

आन्तरिक रोजगारी सिर्जना गरेर विदेशिने दबाब घटाउने।

साउन महिनामा मात्रै करिब पौने २ खर्ब रेमिट्यान्स भित्रिनु नेपालको अर्थतन्त्रका लागि ठूलो राहत हो। पूरा वर्षमा १७ खर्बभन्दा बढी भित्रिनु अझै ठूलो उपलब्धि हो। तर यस उपलब्धिको आधार लाखौँ नेपाली युवाको पसिना र विछोड हो।

रेमिट्यान्सलाई अवसरका रूपमा उपयोग गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न सके मात्र यसले दीर्घकालीन समृद्धि दिलाउन सक्छ ।