बैंकिङ खबर/ केन्द्रीय बैंकहरूले अर्थतन्त्रमा स्थिरता ल्याउन र मुद्रास्फीति नियन्त्रणमा राख्न नियमित ब्याजदर कायम गर्छन् । यी दरले वाणिज्य बैंकहरूसँगको ऋण-सुविधालाई प्रभाव गर्दछन्, जसले समग्र आर्थिक गतिविधिमा असर गर्छ ।
अत्यधिक ब्याजदर भनेको दीर्घकालमा ऋणको लागतमा वृद्धि, आर्थिक गतिविधि सुस्त हुने र निजी क्षेत्रलाई संघर्षमा पुर्याउने संकेत पनि हो । अहिलेको परिस्थितिमा सबैभन्दा उच्च ब्याजदरको देशमा भेनेजुएला रहेको छ ।
भेनेजुएलाको बैंकिङ क्षेत्र वर्तमान समयमा तीव्र आर्थिक अस्थिरता र नियामक दबाबको बीचमा संघर्षरत देखिन्छ । सरकारद्वारा लागू गरिएका मौद्रिक सीमाहरू, मुद्रास्फीति नियन्त्रणका उपायहरू, कर्जा वितरण क्षमतामा कमीले बैंकिङ प्रणालीलाई कमजोर बनाएको छ । विशेषगरी, खराब कर्जा उच्च छ ।
भेनेजुएलाको केन्द्रीय बैंकले २०२५ को गत मे महिनासम्म दरलाई ५९.३६ प्रतिशतसम्म ब्याजदर पुर्याएको थियो । यो विश्वकै सबैभन्दा उच्च दर हो । ट्रेडिङ इकोनोमिक्सका तथ्यांकअनुसार, २०२५ जुलाईमा अन्तरबैंक ब्याजदर ५९.२३ प्रतिशत कायम भएको छ ।
त्यस्तै, २०२५ अगस्टमा जम्मा निक्षेप ब्याजदर ३६ प्रतिशत रहेको छ । यी आँकडाहरूले भेनेजुएलाको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण र ऋण व्यवस्थापनमा कडाइ गर्नुपर्ने अवस्थालाई प्रष्ट पारेको छ ।
उच्च ब्याजदर कायम रहँदा पनि, २०२५ को सुरुवाती महिनाहरूमा बैंकिङ प्रणालीको ब्यालेन्स सिट उल्लेखनीय रूपमा बढेको देखिएको छ । यसले बैंकहरूको सम्पत्ति र दायित्व व्यवस्थापनमा सुधार भएको संकेत गरे पनि मौद्रिक नीतिका दबाब अझै कायम छ ।
यसैबीच, केन्द्रीय बैंकले अर्थतन्त्रलाई स्थिर बनाउन डलर बजारमा हस्तक्षेप गर्दै आएको छ । २०२५ मा गत वर्षको तुलनामा डलर आपूर्ति केही घटेको छ । यो कदमले विदेशी मुद्रा बजारमा कृत्रिम स्थिरता ल्याउने प्रयास देखाएपनि दीर्घकालीन प्रभावकारिताबारे शंका उब्जिएको छ ।
विशेषज्ञहरूका अनुसार, उच्च ब्याजदरले मुद्रास्फीति नियन्त्रणमा तत्काल प्रभाव पार्न सक्छ तर यसले लगानी र ऋण विस्तारलाई अवरुद्ध गर्ने खतरा पनि बढाउँछ । यसरी, उच्च ब्याजदर, सीमित डलर आपूर्ति, र राजनीतिक-आर्थिक दबाबबीच भेनेजुएलाको बैंकिङ क्षेत्र अहिले पनि अनिश्चितताको चक्रभित्र अड्किएको देखिन्छ ।