
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने काउन्टर साइक्लिकल बफरलाई शून्य प्रतिशतमा कायम गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको परिपत्र अनुसार, आगामी आर्थिक वर्षमा यो बफर लागू नहुने भएको हो।
क्यापिटल एडीक्वेसी फ्रेमवर्क अन्तर्गत आवश्यक पर्ने यो बफर अर्को सूचना जारी नभएसम्म शून्य प्रतिशतमै रहने जनाइएको छ। यस निर्णयले बैंक तथा वित्तीय संस्थाहरूलाई थप तरलता कायम गर्न सहयोग पुग्ने र आर्थिक गतिविधि विस्तार गर्न प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
काउन्टर साइक्लिकल बफर भनेको आर्थिक मन्दीको समयमा बैंकको ऋण दिने क्षमता कायम राख्न प्रयोग हुने अतिरिक्त पुँजी हो। नेपाल राष्ट्र बैंकले आर्थिक चक्रको अवस्थालाई हेरेर यसलाई समय-समयमा समायोजन गर्दै आएको छ।



