
बैंकिङ खबर/ वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जामध्ये ६० प्रतिशतभन्दा बढीको गुणस्तर परीक्षण अब अन्तर्राष्ट्रिय परामर्शदातामार्फत हुने भएको छ। नेपाल राष्ट्र बैंकले बढी कर्जा तथा लगानी गर्ने १० ठूला वाणिज्य बैंकहरूको कर्जा परीक्षणका लागि बिहीबार बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको हो।
राष्ट्र बैंकका सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलका अनुसार सम्झौताअनुसार सन् २०२५ को डिसेम्बरसम्म काम सक्नेछ। ‘बीचमा दशैं–तिहारलगायत पर्वका कारण ढिलाइ भए केही समय थप हुन सक्छ,’ उनले बताए।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म वाणिज्य बैंकहरूले ४९ खर्ब ६० अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेका छन्। परीक्षणमा परेका १० बैंकको कर्जा परिमाण करिब ३० खर्ब ९४ अर्ब रुपैयाँ पुग्नेछ, जुन कुल कर्जाको ६२.३८ प्रतिशत हो।
सम्झौताअनुसार ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, प्रभु र एनआईसी एशिया बैंकको कर्जा तथा लगानीको गुणस्तर परीक्षण गरिनेछ।
राष्ट्र बैंकले प्राविधिक र आर्थिक मूल्यांकनमा उच्च अंक ल्याएको आधारमा हौलादार युनुससँग सम्झौता गरेको हो। परीक्षण शुल्क ६२ लाख ५४ हजार ९१२ रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक) र २ लाख ७१ हजार ६७० अमेरिकी डलर हुनेछ।
अन्तर्राष्ट्रिय मुद्राकोषले नेपाललाई विस्तारित कर्जा सुविधा उपलब्ध गराउनुअघि १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण गर्नुपर्ने शर्त राखेको थियो। आईएमएफले आफ्नो प्रतिवेदनमा बैंकहरूले कर्जा वर्गीकरणमा उदारता अपनाएको, प्रोभिजन कम राखेको र जोखिम व्यवस्थापन प्रणाली कमजोर रहेको उल्लेख गर्दै परीक्षणको आवश्यकता औंल्याएको थियो।
यो परामर्शदाता छनोट दोस्रो चरणको बोलपत्रमार्फत भएको हो। पहिलो चरणमा बजेटभन्दा बढी आर्थिक प्रस्ताव आएपछि प्रक्रिया रद्द गरिएको थियो। दोस्रो चरणमा हौलादार युनुससहित नेपाल, भारत, श्रीलंकाका विभिन्न कम्पनीहरूको प्रस्ताव संक्षिप्त सूचीमा परेको थियो।
सम्झौताअनुसार परीक्षणमा कर्जा नीति र प्रक्रिया, वर्गीकरण, धितो मूल्यांकन, प्रोभिजनिङ अभ्यास र नियामकीय अनुपालनको समग्र मूल्यांकन हुनेछ।





