
बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको रिहा सम्बन्धी निवेदन खारेज गर्दै उनलाई थुनामै राख्न आदेश दिएको हो।
लामिछानेले आफू उक्त प्रकरणमा संलग्न नरहेको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गराउने सुनिश्चितता आफूले गर्न तयार रहेको बताए। उनले आफ्नो भागको ठगी बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि निवेदनसँगै पेश गरेका थिए।
तर, अदालतले जमानत स्वीकार नगरी उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा छन्। उनीमाथि बुटवलस्थित सुप्रीम सहकारीमा भएको करोडौं रुपैयाँ ठगी प्रकरणमा संलग्न रहेको आरोप छ। अदालतको यो निर्णयसँगै अब उनी थुनामै रहेर कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ।