२०८२ श्रावण २५ गते

सिभिल सेभिङ सहकारीको जग्गा लिलामी प्रक्रियामा

बैंकिङ खबर/सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सोल्टीमोडस्थित मुख्य कार्यालय भवन लिलामीमा चढेको छ। बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उक्त जग्गा लिलामी गर्ने निर्णय गरेको हो।

समितिले आइतबार ३५ दिने सूचना जारी गर्दै जग्गा खरिदमा इच्छुक व्यक्तिहरूलाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ। लिलामीमा पर्ने जग्गाको क्षेत्रफल ५२५.९५ वर्गमिटर रहेको छ, जुन १ रोपनीभन्दा केही बढी अर्थात् १६.५४ आना बराबर हो। जग्गाको न्यूनतम मूल्य प्रतिआना ७५ लाख रुपैयाँ तोकिएको छ, जसअनुसार कुल बिक्री मूल्य करिब १२ करोड ४० लाख रुपैयाँ पुग्ने अनुमान छ।

बोलकबोलमा भाग लिन इच्छुकले ३५ दिनभित्र समितिको कार्यालयमा बोलकबोल अंकको १० प्रतिशतसहित बोलपत्र बुझाउनुपर्नेछ। अधिकतम तीन फर्म, व्यक्ति वा संस्थाले संयुक्त रूपमा बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड बागमती प्रदेशको पहिलो समस्याग्रस्त सहकारी हो। यसमा रकम डुबेको भन्दै १५७७ जनाले ६ अर्ब २१ करोड रुपैयाँ बराबरको मागदाबी पेस गरेका छन्। सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगी प्रकरणमा कारावासमा छन्।