
बैंकिङ खबर/बागमती प्रदेशका तीन ठूला सहकारी संस्थामा करिब ११ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी बचतकर्ताको रकम फसेको खुलेको छ। लामो समयदेखि रकम नपाएको गुनासो गर्दै पीडितहरूले रकम फिर्ताको माग गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा हारगुहार गरेका छन्।
बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका बचतकर्ताले अनलाइनमार्फत दाबी निवेदन दिएका छन्।
सिभिल सेभिङको बचत फिर्ता मागमा १,५८९ जनाले ६ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको दाबी गरेका छन्, तर हालसम्म ५८ लाख रुपैयाँ मात्र ऋण उठेको छ। यस सहकारीको बाँकी उठ्नुपर्ने ऋण ८ अर्ब रुपैयाँभन्दा बढी छ।
दर्शन बचत सहकारीमा ३,००० भन्दा बढी बचतकर्ताले २ अर्ब ३० करोड रुपैयाँ फिर्ता गर्न माग गरेका छन्। तर, ५७ करोड ३९ लाख रुपैयाँ उठ्नुपर्ने ऋणमध्ये हालसम्म ८ लाख ३२ हजार रुपैयाँ मात्र असुल भएको छ। यसमा ५०१ जना ऋणी छन्।
नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीमा ८५९ जना ऋणी रहेका छन्, जसबाट ७६ करोड ९० लाख रुपैयाँ उठ्न बाँकी छ। त्यस्तै, सुमेरु सेभिङ एण्ड क्रेडिटको काम अदालतमा मुद्दा रहेकाले अघि बढ्न सकेको छैन, जसका कारण पीडितहरू अझै रकम पाउनबाट वञ्चित छन्।
समितिले मुद्दा तथा ऋण असुल प्रक्रियामा ढिलाइ हुँदा पीडितको समस्या समाधान गर्न कठिनाइ भएको जनाएको छ।




