२०८२ श्रावण २३ गते

राष्ट्र बैंकको वित्तीय प्रणालीमा पैसा घटेर ४ खर्बमा झर्‍यो

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको पैसा ६ खर्ब ६९ अर्बबाट घटेर ४ खर्ब १५ अर्ब रुपैयाँमा झरेको छ। केन्द्रीय बैंकसँग बिहीबार ६ खर्ब ६९ अर्ब रुपैयाँ बक्यौता रहेको थियो भने शुक्रबार स्थायी निक्षेप सुविधाबाट साढे २ खर्ब रुपैयाँ फिर्ता भएसँगै बक्यौता रकम घटेको हो।

राष्ट्र बैंकका अधिकारीका अनुसार, स्थायी निक्षेप सुविधा परिपक्व हुने दिन सार्वजनिक बिदा परेको कारण बिहीबारको स्थायी निक्षेप शुक्रबार नै फिर्ता गरिएको थियो। वित्तीय प्रणालीमा आएको अत्यधिक तरलता, आर्थिक गतिविधिमा सुस्तता र बजार माग नबढेपछि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी अपेक्षा अनुसार नबढ्नु मुख्य कारण रहेको बताइएको छ।

तरलता अधिक भएका कारण अन्तरबैंक ब्याजदर घट्ने र त्यसले समग्र ब्याजदरमा प्रभाव पार्ने भएकाले राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेको छ। करिडोरको तल्लो सीमा २.७५ प्रतिशतभन्दा तल जाँदा राष्ट्र बैंकले तरलता खिचेर ब्याजदरलाई नियन्त्रणमा राख्ने गर्दछ। बिहीबार मात्र राष्ट्र बैंकले ३५ दिन अवधिको ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको थियो, तर बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित लगानी नगरेका कारण मात्र १५ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ।