२०८२ श्रावण २० गते

‘नाडा अटो शो २०२५’ भदौ ३ देखि भृकुटीमण्डपमा, एक लाख बढी दर्शकको अपेक्षा

बैंकिङ खबर/ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ।

‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यो कार्यक्रमले नेपालको मोटर उद्योगमा नयाँ प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक प्रस्तुत गर्दै सम्पूर्ण अटो क्षेत्रलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको छ। उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने तय भएको छ।

शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे ब्रान्डसहित ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्थाका ३५ कम्पनीको पनि सहभागिता रहनेछ।

१२५ भन्दा बढी प्रदर्शक रहने यो शोमा १ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ। ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र ओगट्ने यो अटो शोलाई हालसम्मकै सबैभन्दा ठूलो मानिएको छ।

यसपटक युनिट्री रोबोट्स र दीपल ईभीटिओएल यूएभीजस्ता विशेष प्रविधिहरू सार्वजनिक गरिने नाडाले जनाएको छ। शोका मुख्य आकर्षणमा विन्टेज मोटर शो (मोरिस माइनर, बीटल, मिनी कूपर, टोयोटा आरटी, माज्डा फेमिलिया लगायत), मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन, साथै ईभी र स्मार्ट मोबिलिटीमा केन्द्रित सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रमहरू समावेश छन्।

शोको टाइटल स्पोन्सर एमएडब्ल्यु वृद्धी, को-स्पोन्सर शिखर इन्स्योरेन्स, पावर्ड बाइ क्याम्पा कोला, मोबिलिटी पार्टनर यांगो र टिकटिङ पार्टनर खल्ती बाइ आईएमई रहेका छन्। अग्रिम टिकट खरिदमा भदौ २ गतेसम्म २० प्रतिशत क्यासब्याक पाइनेछ।

सुरक्षा तथा सुविधा सुनिश्चित गर्न जोन विभाजन, प्रि-बुकिङ, मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, स्वास्थ्य टोली, निगरानी र आगो नियन्त्रणको व्यवस्था गरिएको छ।

नेपाल ल्युब तेलले १२ जना भाग्यशाली विजेतालाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गर्नेछ।

नाडा अध्यक्ष करण चौधरीले नाडा अटो शो नेपालको अटोमोटिभ उद्योगको सबैभन्दा उत्कृष्ट मञ्च बनेको दाबी गर्दै यसले उद्योगमा नवप्रवर्तन र प्रविधिमा पहुँच विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।