
बैंकिङ खबर/ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले ३० प्रतिशतभन्दा बढी बचत तथा ऋण कारोबार गर्ने जुनसुकै प्रकारका सहकारी संस्था प्राधिकरणमा अनिवार्य दर्ता हुनुपर्ने बताएका छन्। राष्ट्रिय सहकारी बैंकको २३औं स्थापना दिवसको अवसरमा आयोजित “सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति सुद्धिकरण निवारण” विषयक गोष्ठीमा बोल्दै अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन्।
उनले सहकारी ऐनले ‘मुख्य कारोबार’लाई स्पष्ट रूपमा परिभाषित गरिसकेको भन्दै ३० प्रतिशतभन्दा बढी कारोबार भएका संस्थाहरूलाई प्राधिकरणमा दर्ता अनिवार्य गरिएको उल्लेख गरे। “मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता र नियमन प्राधिकरणको जिम्मेवारी हो,” अध्यक्ष शर्माले भने, “तीनै तहका (स्थानीय, प्रदेश र संघ) सहकारी संस्थाहरू प्राधिकरणमा दर्ता हुनुपर्छ।” उनका अनुसार सहकारी दर्ताका लागि आवश्यक कार्यविधि निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।



