
बैंकिङ खबर/ विभिन्न सहकारी संस्थाबाट रकम अपचलन गरेर फरार रहेका गीतेन्द्रबहादुर (जीबी) राईलाई पक्राउ गर्न माग गर्दै पीडित बचतकर्ताहरूले गृह मन्त्री रमेश लेखकलाई भेटेका छन्। सोमबार गृह मन्त्रालयमा पुगेका पीडितहरूले राईलाई इन्टरपोल रेड कर्नर नोटिस जारी भएर पनि अहिलेसम्म पक्राउ नगरिएको भन्दै तत्काल कारबाही अघि बढाउन आग्रह गरेका हुन्।
संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले गृहमन्त्रीले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताएका जानकारी दिए। साथै हाम्रो उपस्थितिमै सहकारी मन्त्रीलाई फोन गरी बचत फिर्ता हुने वातावरण बनाउन निर्देशन पनि दिए । पीडितहरूले सोमबार महान्यायाधिवक्ता र सहकारी नियमन प्राधिकरणका अध्यक्षलाई पनि भेटेर मुद्दा छिटो टुंगोमा पुर्याउन, ऋणीहरूसँगको असुली प्रक्रिया सहज बनाउन र सम्पत्ति रोक्का गरी बिक्री गर्ने प्रक्रिया अघि बढाउन माग गरेका छन्।
राई भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारीका संस्थापक तथा सञ्चालक हुन्। उनीसँगै देशका अन्य चार सहकारी—बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीसँग पनि उनको संलग्नता रहेको छ।
यी पाँचै सहकारीका सयौं पीडितहरू अहिले काठमाडौंमा धाइरहेका छन्। दुवाडीका अनुसार, साहारा चितवनमा मात्रै हालसम्म ३८ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा दुई जना मात्र पक्राउ परेका छन्। जीबी राईसहित अरू अझै फरार छन्।संघर्ष समितिले ऋण लिएका व्यक्तिहरूलाई कार्यविधि बनाएर ऋण तिर्न आग्रह गर्नुपर्ने र सहजीकरण गर्न सहकारी नियमन प्राधिकरणले छुट्टै खाता खोलिदिनुपर्ने मागसमेत राखेको छ।