२०८२ श्रावण १८ गते

लघुवित्तको वित्तीय विवरणमा सुधार, अधिकांश कम्पनीको नाफा बढ्यो

बैंकिङ खबर/पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ। हालै सार्वजनिक गरिएको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्त कम्पनीहरूले नाफालगायतका प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक प्रगति गरेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्तमध्ये हालसम्म १० लघुवित्त कम्पनीहरूले मात्रै चौथो त्रैमाससम्मको विवरण सार्वजनिक गरेका छन्। तीमध्ये अधिकांश कम्पनीहरूले नाफा, चुक्ता पुँजी, ब्याज आम्दानी र प्रतिसेयर आम्दानी जस्ता सूचकहरूमा सुधार देखाएका छन्।

चुक्ता पुँजीमा आरएसडिसी लघुवित्त अग्रस्थानमा

सार्वजनिक विवरणअनुसार आरएसडिसी लघुवित्तको चुक्ता पुँजी सबैभन्दा धेरै छ। एक वर्षमा ९.५० प्रतिशतले वृद्धि भई यो कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ पुगेको छ। अर्कोतर्फ, सबैभन्दा कम चुक्ता पुँजी समाज लघुवित्तको रहेको छ, जसको पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ मात्र छ।

ब्याज आम्दानीमा इन्फिनिटी लघुवित्त अगाडि

इन्फिनिटी लघुवित्त वित्तीय सूचकको हिसाबले पनि अगाडि देखिएको छ। कम्पनीको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशतले वृद्धि भई ४० करोड ४९ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा आरएसडिसी बाहेक सबै लघुवित्तको ब्याज आम्दानीमा वृद्धि भएको छ।

नाफामा सुधार

१० कम्पनीमध्ये ७ लघुवित्त कम्पनीले अघिल्लो वर्षको तुलनामा नाफा बढाएका छन् भने ३ कम्पनीको नाफा घटेको छ। सबैभन्दा धेरै नाफा कमाउनेमा महुली लघुवित्त अगाडि रहेपनि यसको नाफा अघिल्लो वर्षको तुलनामा झन्डै ९९.६४ प्रतिशतले घटेको देखिन्छ।

प्रतिसेयर आम्दानीमा समाज लघुवित्त शीर्ष स्थानमा

प्रतिसेयर आम्दानीको हिसाबले समाज लघुवित्त सबैभन्दा अगाडि रहेको छ। एक वर्षमा यसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६५ पैसाले बढेर ६२ रुपैयाँ १० पैसा पुगेको छ। आरएसडिसीबाहेक सबै लघुवित्त कम्पनीहरूको प्रतिसेयर आम्दानी बढेको छ।