२०८२ श्रावण १५ गते

६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष केसी पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसी पक्राउ परेका छन्।

दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भई सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा सहकारी सञ्चालन गर्दै आएका ३४ वर्षीय केसीलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी गणेश सापकोटाले जानकारी दिएका छन्।

केसीसहितको समूहले बचतकर्ताको जम्मा ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोपमा २०८१ वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरीले उनलाई सहकारी अपचलनसम्बन्धी अनुसन्धानको लागि हिरासतमा राखेको छ। पीडित बचतकर्ताहरूले लामो समयदेखि रकम फिर्ताको माग गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।