
बैंकिङ खबर/ रुपन्देही, तिलोत्तमा डिंगरनगरस्थित दूरगामी बहुउद्देश्यीय सहकारी संस्था मा करोडौं रुपैयाँ अपचलन भएपछि अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री फरार भएका छन्। त्यसको प्रतिकारस्वरूप आक्रोशित बचतकर्ताहरूले सहकारीका सञ्चालकहरूलाई कार्यालयमै थुनेर राखेका छन्।
असार १७ गतेदेखि फरार रहेका अध्यक्ष र सचिवको खोजीमा प्रहरी जुटिरहेको भए पनि उनीहरू अहिलेसम्म सम्पर्कमा आएका छैनन्। यसबीच, प्रहरीद्वारा नियन्त्रणमा लिइएका दुवैजनाका श्रीमतीहरू शारदा तिवारी र गीतादेवी पन्थीलाई मंगलबार र बुधबार छलफलका लागि सहकारी कार्यालयमा बोलाइएको थियो। तर छलफलबाट कुनै सहमति नजुटेपछि बचतकर्ताले कार्यालयमै उनीहरूलाई थुनेका हुन्।
बचतकर्ता लालबहादुर खत्रीका अनुसार, “सञ्चालकहरूले सत्य उजागर नगरेसम्म र समाधान नआएसम्म बाहिर निस्कन दिइने छैन। उनीहरूलाई खानपानको व्यवस्था कार्यालयमै गरिएको छ।”
शारदा तिवारीले मंगलबारको छलफलमा संस्थाबाट भएको हिनामिनाको जिम्मेवारी सम्पूर्ण सञ्चालक समितिले लिनुपर्ने तर्क गरेकी थिइन्। उनले आफूसँग रहेको ७ करोड रुपैयाँ बचत फिर्ताका लागि दिन तयार भए पनि उनका जेठाजू हरि तिवारीले असहयोग गरेपछि सहमति बिग्रिएको बताइएको छ।
बचतकर्ताहरूले अध्यक्ष–सचिवलाई तुरुन्त उपस्थित गराउन वा उनीहरूको सम्पत्ति विक्री गरेर बचत रकम फिर्ता गर्न माग गरिरहेका छन्। उनीहरूले बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
सहकारीका उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य, र सह–कोषाध्यक्ष केशरी पाण्डेले बचतकर्ताको माग उचित रहेको बताउँदै फरार अध्यक्ष–सचिवलाई चाँडै समात्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाका अनुसार, फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको छ र चाँडै पक्राउ गरिने दाबी गरिएको छ। अदालतले दुवैजनाविरुद्ध पहिले नै पक्राउ पुर्जी जारी गरिसकेको छ।
सहकारीमा देखिएको संकटपछि प्रदेश सहकारी कार्यालयले आन्तरिक लेखापरीक्षणको तयारी थालेको छ। तर, अघिल्ला लेखापरीक्षणमा तथ्य लुकाइएको आशंका भएकाले यसमा ढिलाइ भइरहेको छ।