
कृष्ण बाबु घिमिरे
आकाशिएको बैंकको ब्याजदरमा करिब दुई वर्ष यता भने बिस्तारै गिरावट भएको पाइन्छ । आ.व २०८२/८३ को सुरुवातसँगै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले बचत तथा मुद्दती खाताको ब्याजदर सर्लक्कै घटाएका छन् ।
वाणिज्य बैंकहरुले साधारण बचत खातामा सरदर २ प्रतिशतदेखि ३ प्रतिशत मात्र ब्याज दिने र सरदर ४ प्रतिशत मुद्दती खातामा ब्याज दिने गरी आ–आफ्ना दर सार्वजनिक गरेका छन् ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले तरलता प्रवाह बढाउँदा तथा बजारमा कर्जाको माग स्थिर वा कम हुँदा बैंकहरू प्रतिस्पर्धात्मक रूपमा ब्याजदर घटाउन बाध्य भएका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति हालै सार्वजनिक गरेको छ जसमा मुद्रास्फिती सरदरमा ५ प्रतिशत छ, यसको मतलब हिजो रु १०० मा किन्न पाइने बस्तु आज रु. १०५ तिर्नु पर्दछ ।
प्रष्ट छ, बचतमा प्राप्त हुने ब्याजले मूल्य वृद्धिलाई धान्दैन । बचतमा ३ प्रतिशतले आम्दानी हुँदा बजार मूल्य ५ प्रतिशतले वृद्धि भएको अवस्था छ । बैंकहरुको यस्तो प्रतिक्रियात्मक कदमले बचतकर्तालाई निरुत्साहित गराउँछ । त्यसमा कुनै सन्देह छैन ।
विगत १ वर्षमा बैंकले ब्याजदर घटाउन गरेका निर्णय हेर्दा ब्याजदर अझै घट्न सक्ने सम्भावना देखिन्छ । यसरी नै ब्याजदर घटाउँदै लगिए बचतकर्ताको मनस्थिति परिवर्तन हुन सक्छ र उनीहरुले बैंकमा निक्षेप राख्नुको सट्टा सरकार र नियमनकारी निकायको प्राथमिकतामा नपरेको क्षेत्र तथा अवैध क्षेत्र तर्फ लगानी बढाउन सक्छन् ।
त्यसले पुन: तरलता समस्या फर्किन सक्ने सम्भावना देखिन्छ ।
एकातर्फ बैंकहरुले लागत कम गर्न बचतको ब्याजदर घटाएका छन् । जसले गर्दा बेस रेट कम हुन गइ विस्तारै कर्जाको ब्याज पनि घट्दै गएर वाणिज्य बैंकले ६–७ प्रतिशतमा कर्जा प्रवाहको लागि अफर गरेको देखिन्छ । कर्जामा ब्याजदर घटेर एकल अंकमा आएको छ, तर बजारमा कर्जाको माग छैन ।
पुराना केही व्यावसायिहरु धमाधम बन्द गर्दै कोहि विदेशीए त कोही विकल्पको खोजिमै भौतारिएको देखिन्छ । हाल बैंकको ब्याज एकल अंकमा आउँदासम्म पनि नत पुराना व्यावसायिमा खुशी अनुभव छ नत नवप्रवेशी सल्बलाएको देखिन्छ ।
व्यावसायिहरु किन निराश छन् ?
एकल अंक ब्याज भएको कर्जा उपभोग गरी चालु पुँजी व्यवस्थापन गर्दै व्यवसाय विस्तार गर्दा पनि उत्पादित बस्तु बजारमा बिक्री हुँदैन । माग कम छ, लाखौं युवकहरु विदेशीए, जनसंख्या कम हुँदैछ ।
जसले गर्दा उत्पादनले बजार पाउने अवस्था छैन । बिक्री नाफाले संचालन खर्च धान्न ठिक्क छ, बैंकको ब्याज तिर्नसम्म धौधौ अवस्था छ, यस्तो अवस्थामा नवप्रवद्र्धन,तथा व्यवसाय विस्तार कसरी हुन्छ ? स्थिति गम्भीर छ, निराशा भन्दा थप केही छैन ।
अर्कोतर्फ बैंकले बेस रेट कम गरेको छ , कम ब्याजदरमा ग्राहक आकर्षक गर्दै कर्जा प्रवाह गर्न बैंक आतुर छन् तर परिमाण भने ठिक उल्टो छ ।
अवस्था के होला त?
ब्याज कम हुँदा व्यावसायि आकर्षक नदेखिनु परिमाण दुःखद हो, सरकार तथा राष्ट्र बैंकले नै नयाँ रणनीति तय गर्न जरुरी देखिन्छ । नव व्यावसायिहरु आकर्षक तथा पुराना व्यावसायिहरुलाई टिकाई राख्न दीर्घकालीन रणनीति तय गर्नै पर्छ ।
ब्याजदर घट्दा वित्तीय संस्थालाई हुने सम्भावित प्रभावहरु
१. निक्षेपमा गिरावटको सम्भावनाः
ब्याजदर घटेसँगै बचतकर्ताले बैंकमा पैसा राख्न प्रेरणा कम पाउने हुँदा निक्षेप संकलनमा असर पर्न सक्छ ।
२. कर्जा प्रवाहमा वृद्धिः
कर्जा सस्तो हुँदा व्यवसायी र सर्वसाधारणले ऋण लिन बढी आकर्षित हुने सम्भावना रहन्छ ।
३. बैंकहरूको नाफामा दबाबः
ब्याजदर घट्दा ब्याज आम्दानी घट्ने भएकाले बैंकहरूको मुनाफा संकुचित हुने जोखिम हुन्छ ।
४. लगानी प्रवाहमा सुधारः
कर्जा सस्तो हुँदा निजी क्षेत्रले लगानी बढाउन सक्छ, जसले आर्थिक वृद्धिमा टेवा पुर्याउँछ । नेपालको कुल ग्रास्त उत्पादनको करिब २२ प्रतिशत स्थान एसएमइएस व्यवसायिहरुले योगदान गरेका छन् भने करिब १७ लाख रोजगारी सृजना गरेका यी व्यवसायीहरु कर्जाको ब्याज घटेर एकल अंकमा आउँदासम्म उत्साही नहुनुले दीर्घकालीन टिकाउ रहन्छ भन्ने सोच्न सकिएला त ?
कर्जाको ब्याजदरमा कमी आउँदा ऋण लिइसकेका वा लिनेहरूलाई पनि ब्याज कम पर्न जान्छ यो सबैका लागि सबल पक्ष हो । आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति आयो तर सरकारले सम्पूर्ण व्यावसायिहरुको मर्कालाई सम्बोधन हुने गरी उत्साहजनक नीति ल्याएको पाइएन । जसले गर्दा घट्दै आएको बैंक ब्याजमा पनि उच्च कर्जाको माग हुन सकेन ।
घट्दो ब्याजसँगै राष्ट्र बैंकले खुकुलो नीति ल्याउन सके पुन बजारमा कर्जाको माग बढ्ने सम्भावना देखिन्छ। पछिल्लो समय अर्थतन्त्रमा पनि केही आशाका सकारात्मक संकेतहरु देखिएका छन् जुन कुरा सरकार परिवर्तन पछिको धितो पत्र बजारमा देखिएको ग्रीन सिग्नल बाट बुज्न सकिन्छ, हाल ४ वर्ष यताकै उच्च बिन्दुमा सेयर बजार पुगेको देखिन्छ ।
घटेको ब्याजदरमा स्थायित्वका साथै व्यावसायिको लागि उपयुुक्त मौद्रिक नितिको निर्माण हुन सकेको खण्डमा पक्कै पनि पुराना व्यावसायिहरु टिकिरहने र नयाँ प्रवेशिको सम्भावना बढ्दै जाने देखिन्छ ।
