
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बजारमा अत्यधिक तरलता देखिएपछि बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २८ दिनका लागि यो रकम संकलन गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार आज (आइतबार) दिउँसो ३ बजे बोलकबोल प्रक्रियाबाट निक्षेप संकलन हुनेछ। बोलकबोलमा कम्तीमा १० करोड रुपैयाँ र बढीमा पाँच–पाँच करोड रुपैयाँले भाग गर्दा बाँकी रहेको निःशेष भाग समेत समेटिने गरी आह्वान गरिएको हो।
सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ ८ गते तोकिएको छ। निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। बहुब्याजदरको आधारमा बहुबोलकबोल गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।
उक्त निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्ने छन्।



