
बैंकिङ खबर/बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि ठूलो परिमाणमा पैसा संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आज (साउन ७) ८० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्दै बैंकिङ प्रणालीबाट तरलता तान्ने तयारी गरेको हो।
राष्ट्र बैंकले दिएको जानकारीअनुसार आज दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल (Auction) हुनेछ। यो माध्यमबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागी हुन सक्नेछन्।
निक्षेप दिन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी आह्वान रकमभित्र बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदरमा पनि भाग लिन सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
यो ५६ दिन अवधिको निक्षेप संकलन हुनेछ, जसको साँवा तथा ब्याज भुक्तानी आगामी असोज १ गते हुनेछ।
पछिल्लो समय कर्जाको माग उल्लेखनीय रूपमा नबढेको र बैंकिङ प्रणालीमा तरलता बढ्दो रूपमा रहँदा बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदरमै (झण्डै ३ प्रतिशत हाराहारी) राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएका छन्। राष्ट्र बैंकले यस्तो तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणलाई नियमित रूपमा प्रयोग गरिरहेको छ।




