Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

समस्याग्रस्त सहकारी संस्थाका ८ हजार ऋणीहरूको जनखाता र अचल सम्पत्ति रोक्का

२०८२ श्रावण १ गते

बैंकिङ खबर/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार, समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका करिब ८ हजार ऋणीहरूको जनखाता र अचल सम्पत्ति रोक्का गरिएको छ।

उनका अनुसार हालसम्म २३ सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ। तीमध्ये ५ सहकारी संस्थाको व्यवस्थापन सकिएको छ भने बाँकी १८ संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया जारी छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ६१ हजार ९४ दाबी गर्नेमध्ये करिब ८ हजार ९८८ सदस्यलाई बचत रकम फिर्ता गरिसकेको छ। कुल २९ करोड रुपैयाँ ऋण असुल भइसकेको छ भने तीन अर्ब ७१ करोड रुपैयाँ दायित्व फरफारक गरिएको छ।

सहकारी विभागले ४० सहकारी संघ–संस्थाको सघन अनुगमन गरी कमजोरी सुधार्न निर्देशन दिएको छ। आर्थिक वर्ष २०७८/७९ देखि कोपोसिम प्रणालीमार्फत हालसम्म १९ हजार १८९ सहकारी संस्थाहरू आबद्ध भएका छन्।

मन्त्री अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन छिटो र प्रभावकारी बनाउन कार्ययोजना तयार भएको बताउँदै बचतकर्ताको रकम फिर्ता र दायित्व फरफारकमा प्राथमिकता दिइने जानकारी दिए।