Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ऋण असुलीमा गएका कर्मचारीमाथि दुव्र्यवहार, दुई महिलाविरुद्ध पक्राउ पूर्जी

२०८२ असार ३१ गते

बैंकिङ खबर/ ऋणको भाखा नतिरेपछि असुलीका लागि घरमा पुगेका सहकारी संस्थाका दुई कर्मचारीमाथि जुत्ताको माला लगाउने र दुव्र्यवहार गर्ने घटनामा संलग्न दुई महिलाविरुद्ध मोरङ प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरमाथि अभद्र व्यवहार, गालीगलौज र हातपातको आरोपमा मुद्दा दर्ता गरिएको हो। दुवै महिला हाल फरार छन्।

घटना आइतबार दिउँसो भएको हो। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने ऋणीको घरमा छलफलका लागि गएका थिए। त्यही क्रममा दुव्र्यवहार भएको प्रहरीले जनाएको छ।

सार्वजनिक भएको भिडियोमा सुशीला लामिछानेलाई कुर्सीमै बसिरहेको अवस्थामा जुत्ताको माला लगाइएको देखिन्छ भने रमेश राईलाई प्रतिकार गर्ने क्रममा लछारपछार गरिएको दृश्य देखिन्छ। माया मगरले माला लगाएकी र दुर्गामाया लिम्बुले घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन्। पछि उक्त भिडियो हटाइएको थियो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी चुँडालका अनुसार, ‘कर्मचारी ऋण असुलीका लागि गएको समयमा यस्तो व्यवहार भएको भन्ने जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।’ उनका अनुसार घटनास्थल दुर्गामाया लिम्बुको घर भएको पुष्टि भएको छ।

हाल दुवै अभियुक्त मोबाइल अफ गरी फरार रहेका छन् भने उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। यता, सहकारी संस्थाले घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। सहकारीका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छवि धूमिल पार्ने भन्दै कानुनी कारबाहीको माग गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।