
बैंकिङ खबर/अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको सपथ लिएका छन्। उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षको रूपमा काम गर्ने जिम्मेवारी दिएको थियो।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि उजुरी परेपछि मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ अनुसार छानबिन समिति गठन गरेको थियो। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठित तीन सदस्यीय छानबिन समितिमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य छन्। समिति गठनसँगै ओझा स्वतः निलम्बन भएका छन्।
छानबिन समितिका अध्यक्ष गिरीसहित सदस्यद्वय सिटौला र ओलीले मंगलबार आफ्नो कार्यादेश बुझेका छन्।



