
बैंकिङ खबर/सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरूमाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। संस्थाले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मोरङको मिक्लाजुङ गाउँपालिका–२ निवासी दुर्गामाया लिम्बु र माया मगरले मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने बिकमाथि गालीगलौज, हातपात तथा जुत्ताको माला लगाउनेजस्तो अशोभनीय व्यवहार गरेको उल्लेख गरिएको छ।
ऋण असुलीको सिलसिलामा कर्मचारीहरू पीडित पक्षको घर पुगेका बेला आइतबार दिउँसो अमर्यादित आचरण भएको सहकारी संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले सहकारी तथा वित्तीय क्षेत्रको समग्र छवि धूमिल बनाउने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। “कर्मचारीहरूको आत्मसम्मानमाथि आघात पुग्ने यस्तो घटनाले उनीहरूको मनोबल कमजोर बनाएको छ,” विज्ञप्तिमा उल्लेख छ, “यस्ता कार्य दोहोरिन नदिन दोषीलाई कानुन अनुसार कडा कारबाही हुनुपर्छ।”
कर्मचारी संगठनको पनि ध्यानाकर्षण
एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले पनि घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनका अध्यक्ष यादवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा कर्मचारीहरूमाथिको यस्तो दुर्व्यवहारलाई “निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय” ठहर गरिएको छ। संगठनले दोषीहरूलाई कानुनी कारबाही गर्न र भिडियो सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गर्नेहरूमाथि समेत कानुनी प्रक्रिया अघि बढाउन प्रशासन समक्ष माग गरेको छ।
प्रहरीमा जाहेरी, अनुसन्धान अघि बढ्दै
सहकारीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दर्ता भइसकेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरियाले अभद्र व्यवहारसम्बन्धी जाहेरी दर्ता भएको पुष्टि गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन्।
सहकारी संस्थाले वित्तीय कारोबारलाई स्वस्थ, मर्यादित र सुरक्षित राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै यस्ता घटनाले संस्थाको मात्र होइन, समग्र सहकारी आन्दोलनको नै बदनाम गराउने चेतावनी दिएको छ।




