बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिलाई स्वागत गर्दै यसले दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको जनाएको छ।
सिबिफिनले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, “मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रहरूको अवस्था, निजी क्षेत्रको मनोस्थिति तथा अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्यांकन तथा विश्लेषण गर्दै जारी गरिएको यस मौद्रिक नीतिले सन्तुलित, समयसापेक्ष र उदार नीति अवलम्बन गर्दै नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणमा जोड दिइएको छ।”
परिसंघका अनुसार लामो समयदेखि मुलुकको अर्थतन्त्र सुषुप्त अवस्थामा रहँदा आर्थिक तथा बैंकिङ गतिविधिहरूले गति लिन नसकेको सन्दर्भमा सार्वजनिक मौद्रिक नीतिले खस्किएको मनोबल र आत्मविश्वासलाई उकासेको छ।
कर्जा विस्तार सहज, वित्तीय स्थायित्वमा टेवा
सिबिफिनले पूँजीकोषमा रहेको दबाबबीच कर्जा लगानी क्षमतामा वृद्धि गर्ने, व्यवस्थापन सहज बनाउने, र वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता दिइएको उल्लेख गर्दै यसका लागि बैंकदर तथा नीतिगत दर घटाइएको कुरालाई सकारात्मक रूपमा व्याख्या गरेको छ।
त्यस्तै, निष्क्रिय र खराब कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढ्दै गएका बेला सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि आवश्यक कानुनी संरचना निर्माणको प्रस्ताव, आवासीय कर्जा र शेयर धितो कर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जाको मार्गदर्शन प्रणालीमा लचीलोपन ल्याउने नीति तथा कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा सुधार गर्ने प्रस्तावलाई परिसंघले अत्यन्त स्वागतयोग्य मानेको छ।
साथै, कृषि तथा लघु, घरेलु, साना तथा मझौला व्यवसायमा कर्जा सहजीकरणको पुनरावलोकन र सम्पत्ति शुद्धीकरण निवारणको रणनीति कार्यान्वयन, साथै “ऋणीसँग राष्ट्र बैंक” कार्यक्रमजस्ता सेवाग्राहीमैत्री प्रयासहरू दिगो विकासमा योगदान दिने अपेक्षा सिबिफिनले राखेको छ।
अर्थतन्त्रको समग्र पुनरुत्थानतर्फ अग्रसर हुने आधार
सिबिफिनले विशेष रूपमा लगानी प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रको विकास, रोजगारी सिर्जना, नवउद्यमशीलता, नवप्रवर्तन र हरित लगानी जस्ता विषयवस्तुमा केन्द्रित रहेर राष्ट्र बैंकले मौद्रिक नीति तयार पारेको प्रति सकारात्मक प्रतिक्रिया दिएको छ।
यसैबीच परिसंघले दिएको कतिपय महत्वपूर्ण सुझावहरू मौद्रिक नीतिमा समेटिन नसके पनि, आगामी निर्देशन र समीक्षा प्रक्रियामार्फत क्रमशः सम्बोधन हुँदै जाने विश्वास व्यक्त गरेको छ।
सहकार्यमा सिबिफिनको प्रतिबद्धता
विज्ञप्तिमा भनिएको छ, “सिबिफिनले मौद्रिक नीतिले अंगिकार गरेका नीतिहरुको प्रभावकारी एवं नतिजामूलक कार्यान्वयनमा सधैं निकट साझेदारको रूपमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो नीतिले न केवल वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्ने प्रयास गरेको छ, तर दीर्घकालीन दृष्टिकोणसहित दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ राष्ट्रलाई अग्रसर गराउने स्पष्ट संकेत दिएको सिबिफिनको धारणा रहेको छ।




