सोमबार सेयर बजार ४२.८४ अंकले घटेर बन्द भएको छ । कारोबार खुलेदेखि नै निरन्तर ओरालो गतिमा रहेको बजार अन्ततः १४३२.५७ अंकमा झरेर बन्द भएको हो । कारोबार भएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह ३११.०१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ४०.८६, ३७.०५, ३३.१९, ४४.१६, १९.९४ र १८.८ अंकले घटेका छन् ।
बजार घटेपछि कारोबार रकम पनि घटेको छ । सोमबार ४८ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १३० वटा कम्पनीको १५ लाख ५० हजार दुई सय ५५ कित्ता सेयर चार हजार दुई सय ३७ पटक खरिदविक्री हुँदा कुल ४८ करोड १२ लाख ४७ हजार दुई सय सात रुपैयाँ पुँजी परिचालन भएको हो ।
सोमबार सबैभन्दा धेरै कारोबार भएको एभरेष्ट बैंकको तीन करोड ५४ लाख ९७ हजार चार सय ८७ रुपैयाँ पुँजी परिचालन भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको तीन करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्सको दुई करोडको ३४ लाखको कारोबार भएको छ भने सिद्धार्थ बैंकको एक करोड ९६ लाख, नेपाल बंगलादेश बैंकको एक करोड ७५ लाख, कैलाश विकास बैंकको एक करोड ७० लाख, शिखर इन्स्योरेन्सको एक करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ४४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको एक करोड २७ लाख र नेपाल इन्भेष्मेन्ट बैंकको एक करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।
कुल १३ वटा कम्पनीका सेयरधनीले सम्पत्ति बढाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा मेरो माइक्रोफाइनान्सका सेयरधनीले ९.८६ प्रतिशतका दरले कमाएका छन् । एनबि इन्स्योरेन्स र आईएलएफसीओ माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ७.७४ र ७.२५ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, कैलाश विकास बैंक प्रोमोटर, वेस्टर्न डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, वरियन्टल होटल्स, अल्पाइन डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त र अपि पावर कम्पनीका सेयरधनीले २ प्रतिशतदेखि ०.२५ प्रतिशतसम्मका दरले कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको नागबेली लघुवित्त विकास बैंकका सेयरधनीले ९.९८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा कैलाश विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ९.९५, ९.९२ र ९.५७ प्रतिशतका दरले गुमाएका छन् भने प्रिमियर इन्स्योरेन्सका सेयरधनीले ८.४४ प्रतिशतले गुमाएका छन् । एनएलजी इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, निर्धन उत्थान बैंक, सिद्धार्थ इन्स्योरेन्स, हाम्रो विकास बैंक र कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।



