Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नवनियुक्त अध्यक्ष बस्नेतले भने–हाम्रो उद्देश्य सहकारी बचतकर्ताको रकम फिर्ता गराउनु हो

२०८२ असार २५ गते

बैंकिङ खबर/ ऋण असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतसहित सदस्यहरूले बुधबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै अध्यक्ष बस्नेतले सहकारी संस्थामार्फत उठाउनुपर्ने ऋण असुली चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले न्यायाधिकरण हाल स्थापनाको चरणमा रहेको र चाँडै नै काम सुरु गरिने जानकारी दिए। उनले विभिन्न अदालतमा रहेका सहकारीसम्बन्धी मुद्दाहरू अब न्यायाधिकरणमा आउने भएकाले सुरुमै मुद्दाको चाप बढ्ने संकेतसमेत गरे।

“काम गर्न कुनै कठिनाइ आएमा आवश्यक सहयोग लिएर भए पनि परिणाममुखी ढंगले अघि बढ्नेछौं,” बस्नेतले बताए। उनले बचतकर्ताहरूको बचत फिर्ता गराउनेलाई आफ्नो प्रमुख उद्देश्य भएको स्पष्ट पारे। अध्यक्ष बस्नेतका अनुसार न्यायाधिकरणसँग सम्पूर्ण क्षेत्राधिकार रहेको छ र सहकारी ऋण असुलीका विषयमा प्रभावकारी रूपमा काम गरिनेछ।

न्यायाधिकरणका सदस्यमा धनकुटाका बसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरे रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा सरकारले न्यायाधिकरण गठन गरेको हो। न्यायाधिकरणबाट सहकारी क्षेत्रको विकराल समस्या समाधानमा अपेक्षित सुधार हुने विश्वास गरिएको छ।