
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। मौद्रिक नीतिअन्तर्गत मौलिक व्यवस्थापन विभागमार्फत ४२ दिन अवधिका लागि यस्तो उपकरण निष्कासन गर्न लागिएको हो।
राष्ट्र बैंकले यसका लागि आज (असार २२) मध्यान्ह ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत बोलपत्र माग गरेको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।
न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्बसम्मको प्रस्ताव
बैंकले जानकारी दिएको अनुसार, निक्षेप संकलन उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव गर्न सकिनेछ। यद्यपि सहभागी संस्थाहरूको प्रस्तावित रकम ४५ अर्ब रुपैयाँको कुल सीमाभित्र हुनुपर्नेछ।
बोलकबोल प्रक्रियामार्फत ब्याजदर तय गरिने छ। सहभागी संस्थाले दशमलव पछिका चार अंकसम्म ब्याजदर उल्लेख गर्नुपर्नेछ। प्रस्तावित ब्याजदर कम भएका बैंक तथा वित्तीय संस्थालाई पहिलो प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
भुक्तानी भदौ १ मा
बोलपत्र स्वीकृत भएका संस्थाहरूको राष्ट्र बैंकमा रहेको खाताबाट रकम स्वतः काटिनेछ। संकलित रकमलाई राष्ट्र बैंकले विभिन्न निक्षेप संकलन खाताहरूमा सुरक्षित राख्नेछ। यस उपकरणको भुक्तानी मिति भदौ १ गते तोकिएको छ।
राष्ट्र बैंकले यो कदमलाई तरलता व्यवस्थापन तथा मौद्रिक स्थायित्व कायम गर्न लिएको बताइएको छ। यस्तो उपकरणको प्रयोगले बजारमा सन्तुलित तरलता प्रवाहका साथै ब्याजदरमा सुसंगति ल्याउने अपेक्षा गरिएको छ।




