
बैंकिङ खबर/ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिका २०८२ बारे विस्तृत छलफल गरेको छ।
भेटका क्रममा अध्यक्ष चौधरीले विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गर्दै प्रस्तावित निर्देशिकामा उल्लेखित बुँदाहरूमा नाडा र विभागबीच विस्तृत छलफल आवश्यक रहेको बताए। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले पनि निर्देशिकाका केही बुँदाहरूमा थप स्पष्टीकरण र यथार्थपरक संशोधन आवश्यक भएको धारणा राखे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्यमा संलग्नलाई दण्ड र सही कार्य गर्नेलाई पुरस्कृत गर्ने नीति लिनुपर्ने सुझाव दिँदै, नेपालमै ब्याट्री उद्योगहरू स्थापना भइसकेको जानकारी गराए।
विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनका अभ्याससमेत अध्ययन गरेर निर्देशिका तयार गर्न लागेको जानकारी दिए। महानिर्देशक पोखरेलले अहिलेसम्म सवारीसाधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न निर्देशिका तयारी गरिएको र नाडाजस्ता सरोकारवालासँग थप छलफलपछि नीतिगत स्पष्टता ल्याइने बताएका छन्।
