June 27th, 2025

बैंकहरूलाई राजनीतिक निर्णयको चंगुलबाट मुक्त गरौंः डा.गोपाल भट्ट(भिडियोसहित)


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् डा. गोपाल प्रसाद भट्टले बैंकिङ प्रणालीमा राजनीतिक हस्तक्षेप बढ्दै गएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। बैंकिङ खबरको ‘बिजनेस स्टुडियो’ कार्यक्रममा विशेष अन्तर्वार्ता दिँदै डा. भट्टले बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्ण रूपमा स्वायत्त बनाइनुपर्नेमा जोड दिए ।

उनले भने, ‘बैंकहरूलाई राजनीतिक निर्णयको चंगुलबाट मुक्त गर्नु अत्यावश्यक छ, अन्यथा दीर्घकालीन रूपमा अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ ।’ उनका अनुसार हाल बैंकहरूले ऋण प्रवाह, ब्याजदर र नियमनका सवालमा अपेक्षित स्वतन्त्रता पाएका छैनन्, जसले व्यवसायीहरूबीच असमझदारी र विश्वासको संकट बढाएको छ ।

डा. भट्टले बैंकिङ प्रणालीलाई प्रभावकारी बनाउने केही उपाय पनि सुझाएका छन्। उनका अनुसार, लघुवित्त र मध्यम स्तरका व्यवसायहरूलाई सहज कर्जा पहुँच गराउने, दीर्घकालीन ऋण प्रवाहलाई प्रवद्र्धन गर्ने र ग्रामीण क्षेत्रसम्म वित्तीय सेवा विस्तार गर्नु आवश्यक छ।

त्यस्तै, उनले ऋण व्यवस्थापन तथा कर्जाको पुनर्संरचनामा बैंकहरूको भूमिका अझ स्पष्ट हुनुपर्ने धारणा राखे। नेपाल राष्ट्र बैंकको नीतिगत संरचनाबारे बोल्दै उनले केही सुधार देखिए पनि अझ लक्षित क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे।
उनका अनुसार, जोखिम मूल्याङ्कन प्रणाली सुधार गर्नुका साथै टार्गेटेड ऋण नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी छ । डा.भट्टले बैंकिङ प्रणालीको सुदृढीकरण बिना समग्र अर्थतन्त्रको दीगो सुधार सम्भव नभएको बताए ।

हेर्नुहोस् भिडियो