
बैंकिङ खबर/ पछिल्ला केही वर्षमा नेपालको पर्यटन क्षेत्रमा निजी तथा सरकारी लगानी उल्लेखनीय रूपले बढिरहेको छ । देशभर नयाँ होटल, रेसोर्ट, ट्रेकिङ मार्ग, साहसिक पर्यटन पूर्वाधार र विमानस्थलमा व्यापक लगानी भइसकेको छ । तर, लगानीको अनुपातमा विदेशी पर्यटकको आगमनमा अपेक्षित वृद्धि हुन नसक्दा पर्यटन क्षेत्रले चित्तबुझ्दो प्रतिफल पाउन सकेको छैन।
चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० वैशाखसम्ममा २० वटा वाणिज्य बैंकले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो।
अघिल्लो वर्ष यही अवधिसम्म यो क्षेत्रमा बैंकहरुले १ खर्ब ९४ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा १२ प्रतिशतले बढेको छ। पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म २२ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ अर्ब ९४ करोड ८ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो ।
पर्यटकको संख्या कमी
यस वर्षको मे महिनामा ८६ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५को मे महिनामा ८६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका हुन्। यो गत वर्षको मे महिनाको आगमनभन्दा ४.४ प्रतिशत कम हो। गत वर्ष मे महिनामा ९० हजार २११ जना पर्यटक नेपाल आएका थिए।
यस वर्षको मे महिनामा पनि भारतीय पर्यटकको आगमन सबैभन्दा धेरै रहेको छ। मे‘मा २८ हजार १६० जना भारतीय पर्यटक नेपाल आएका छन्। त्यसपछि क्रमशः अमेरिकी (९ हजार ७४), चिनियाँ (८ हजार ८८२४), बंगलादेशी (२ हजार २८०), बेलायती (३ हजार ४७३) र अस्ट्रेलियन (२ हजार ६७९) रहेका छन्। ‘मे’लाई हिमाल आरोहणको खास महिना मानिन्छ। तर, यही खास महिनामा पनि पर्यटक आगमन घट्नु नेपालको पर्यटनमा नकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । हवाई उडान व्यवस्थित र सुरक्षित नहुनु तथा सडक सञ्जालको अवस्था राम्रो नहुँदा पर्यटक घट्न थालेका छन् ।
अपेक्षाकृत रुपमा पर्यटक बढ्न सकेनन्
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताउँछन् । आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको उनको भनाइ छ ।
“अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दुईपछि पर्यटक बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ”, उनले भने, “यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ ।” उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने गुणस्तरीय हुनुपर्ने बताए ।



