
बैंकिङ खबर/ समस्याग्रस्त घोषित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ऋण असुली गर्न सकेको छैन । सात अर्ब १७ करोड रुपैयाँ बराबरको सम्पत्ति देखिए पनि अहिलेसम्म केवल ८० लाख रुपैयाँ मात्र फिर्ता गर्न सफल भएको छ ।
२०८० सालको फागुनमा समस्याग्रस्त घोषणापछि बन्द भएको सहकारीको सम्पूर्ण कागजातहरू समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। समितिका सदस्य ध्रुव आचार्यका अनुसार असार महिनाभित्रै थोरै रकम भएका बचतकर्ताहरूलाई पैसा फिर्ता दिने तयारी भइरहेको छ ।
बचत फिर्ता माग गर्ने थोरै
समितिले बचत फिर्ताका लागि मागदाबी गर्न सूचना जारी गरेपछि हालसम्म ४ हजार ५२८ जनाले मात्र फारम बुझाएका छन्। सहकारीमा २२ हजारभन्दा धेरै बचतकर्ता रहेकामा यो संख्या निकै कम हो।
जग्गा लिलामीको तयारी
सहकारीको नाममा ४२ वटा जग्गा फेला परेको समितिले जनाएको छ। ती सबै जग्गाको मूल्याङ्कन कार्य भइरहेको छ। समितिले साउन महिनाभित्रै लिलामी प्रक्रिया सुरू गर्ने योजना बनाएको छ। जग्गा, डेरी, विद्यालयजस्ता सम्पत्ति लिलामीबाट प्राप्त रकम दोस्रो चरणमा बचतकर्तालाई वितरण गरिनेछ।
ऋण असुलीमा किन समस्या ?
समितिका अनुसार ऋण तिर्न अटेर गर्नेहरू बढेका छन्। समितिको अधिनमा रहेको ऋणमा व्याज र जरिवाना लाग्दैन भन्ने प्रावधानले ऋणीहरू निश्चिन्त बनेका छन्। कतिपय ऋणीले हिसाब गराए पनि पछि सम्पर्कविहीन हुने गरेको समितिको अनुभव छ।
अब समितिले ऋणीहरूलाई व्याज र हर्जाना लागु गर्ने योजना बनाइरहेको छ। साथै, ऋणमा लिएको व्याज पनि बचतकर्तालाई दिनेबारे छलफल भइरहेको छ।
१ अर्ब ७८ करोड ऋणको अत्तोपत्तो छैन
समितिका अनुसार १ अर्ब ७८ करोड रुपैयाँ ऋण कहाँ लगानी भएको भन्ने अझै स्पष्ट हुन सकेको छैन। सहकारीको चितवनमा २० विघा जमिन भएको भनिए पनि ७ विघा मात्र फेला परेको समितिले जनाएको छ। यो सहकारीमा अर्बौं रुपैयाँ हिनामिना भएको आशंका समितिले गरिरहेको छ।
१९ सहकारीको २२ करोड फिर्ता हुने तयारी
समितिले हालसम्म कुबेर बचत तथा ऋण सहकारी, स्ट्यान्डर्ड मल्टिपर्पोज सहकारी, र चार्टर्ड बचत तथा ऋण सहकारीका सबै हिसाब फस्र्यौट गरिसकेको छ। अन्य दुई सहकारीको हिसाब किताब अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। समितिको लक्ष्य असार महिनाभित्रै १९ वटा सहकारीमार्फत २२ करोड रुपैयाँ फिर्ता गर्नु हो।




