Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी ठगी प्रकरणः भाग्ने ठाउँ छैन, मितेरी सहकारीका ठगी आरोपी कम्बोडियाबाट पक्राउ

२०८२ असार ३ गते

बैंकिङ खबर/ मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका अर्का आरोपी ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन् । कानुन उल्लंघनको आरोपमा कम्बोडियामा पक्राउ परेका उनलाई नेपाल ल्याउने पहल सुरु भएको छ । उनीविरुद्ध इन्टरपोलमार्फत् रेड नोटिस पनि जारी भएको थियो । शुरुमा उनलाई डिफ्युजन नोटिस जारी गरी खोजिएको थियो । अदालतमा मुद्धा गएपछि रेड नोटिस जारी गरि खोजिएको थियो ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै सोही सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा सिआइबीले भण्डारीसहितको समूहले सहकारीको झण्डै साढे ३ करोड रुपैयाँ अपचलन गरेको निष्कर्ष निकालेको थियो ।

सोही अपचलनमा कांग्रेस उपसभापति गुरुङ र उनकी पत्नी ज्योति गुरुङमाथि पनि अनुसन्धान भइरहेको छ । यस्तै सहकारीको रकम अपचलन गरेको आरोपमा  गुरुङ र भण्डारीसहित सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूको समूहले साढे १२ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।