
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को दश महिनाको तथ्याङ्कमा सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ ।
शोधनान्तर स्थिति रु.४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतलेर अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ । नेपाल सरकारको खर्च रु.११५७ अर्ब ८९ करोड र राजस्व परिचालन रु.९२२ अर्ब ४३ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको छ ।


