
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग रुकुमका किसानले कागज खेलाउने भन्दा माटो खेलाउने सिस्टम ल्याउन माग गरेका छन् ।
साना उद्यमी र कृषकहरूलाई ऋण तिर्न समस्या किन आइरहेको छ भन्ने बुझ्न देश दौडाहामा निस्किएका उनी रुकुम पुगेका थिए । सो क्रममा त्यहाँका किसानहरुले गभर्नरसँग सहुलियतपूर्ण ऋण नपाएको, सडक संजालसँग नजोडिएका जग्गा धितो मूल्यांकन हुन नसकेको जस्ता गुनासाहरु राखेका थिए ।
किसानका गुनासा सुनेपछि उनले बैंकहरुले वास्तविक किसानलाई लोन दिन आग्रह गरे । उनले भने, ‘आज देखाएर भोली भाग्नेलाई लोन नदेऊ ।’ यस्तै उनले बैंकहरुलाई होसियार हुन आग्रह समेत गरे ।
उनले भने, ‘तपाईहरुले दिएको लोनको तपाईहरु नै जिम्मेवार हो । तपाईहरुले बुझेर ऋण दिनु भएको छ होला भन्ने लागेको छ ।’
कहिलेकाही राम्रो काम गर्दा गर्दै गल्ती हुने भन्दै उनले सही किसान पहिचान गरेर लोन दिन आग्रह गरे । सडक नजोडिको ठाउँका किसानहरुलाई कसरी ग्रो बनाउने, जग्गाहरुलाई कसरी मनिटाइज गराउने, कसरी त्यसलाई आधार मानेर लोन दिने विषयमा आफुहरुले गम्भीर रुपमा लिएको उनले बताए ।
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल पनि उनको टोलीमा थिए ।




