
बैंकिङ खबर/ काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का कार्यक्रम सुरु गरेको छ । मेलाको प्रारम्भमा रोजगार र स्वरोजगार बन्ने अवसरसँग सम्बन्धित विषयमा अभिमुखीकरण आयोजना गरिएको थियो ।
तालिमका लागि छनोट भएका १६ सय ४१ जना छनोट भएका छन् । यसैबीच नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको आफू प्रशंसक रहेको बताइन् ।
बिहीबार मेलाको अवलोकनका क्रममा प्रशिक्षार्थीले तयार पारेको बेकरी चाख्दै उनले यस्तो प्रतिक्रिया दिइन् । ‘मेलाले प्रशिक्षण मात्र प्रदान गरेको छैन । यसले रोजगार र स्वरोजगारको सम्भावना पनि देखाउँछ । यो मेलाको सवल पक्ष हो’ उनले भने, ‘समय अनुसारका सीप र सिपयुक्त जनशक्तिले रोजगार पाउने ठाउँ, रोजगार दिने व्यक्ति एकै ठाउँमा भेटिने खालको प्रयत्न अनुकरणीय छ ।’
त्यसक्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारीले, सीप प्रदान गर्ने र रोजगार प्रदान गर्ने संघसंस्थाहरुसँग सहकार्य गरेर दिगो नतिजा प्राप्त गर्ने संयन्त्र विकास भइरहेको जानकारी गराए ।
आवासीय प्रतिनिधिलाई तालिम संयोजक देवेन्द्र के. सी. ले कक्षाहरुका विषयमा स्थलगत जानकारी गराएका थिए । नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले काठमाडौंको अभ्यास अन्य पालिकामा पनि विस्तार गर्नुपर्ने बताइन् । बिहीबार सीप मेलाको अवलोकन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिइन् ।
सीप प्रदान भएपछि व्यक्तिको आय बढ्ने भएकोले यसको लाभ घरघरमा पुग्ने उनको भनाइ थियो ।
तालिम संयोजक के.सी.का अनुसार मेलामा १० वटा क्षेत्रका ४२ वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भएका छन् । आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) पेशा छन् ।
विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चलेका छन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम भएका छन् ।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेशाका तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ पेशाका तालिम छन् ।
अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेशाका तालिम सञ्चालन भएका छन् ।
आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेशाका तालिम छन् । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम छन् । कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम भएका छन् । यस्तै स्टक मार्केट सम्बन्धी तालिम पनि छन् ।




