Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तुलसी सहकारी प्रकरणः अध्यक्षलाई ६ वर्ष कैद, ६७ करोड ५९ लाख जरिवाना

२०८२ जेष्ठ २२ गते

बैंकिङ खबर/विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दा किनारा लागेकाे छ । जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र ६७ करोड ५९ लाख रूपैयाँ बढी जरिवाना र त्यही बराबरको बिगो हुने फैसला बिहीबार सुनाएको छ। न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीका अध्यक्ष शर्मासहित सचिव सविना न्यौपाने र छेत्रीय प्रबन्धक सन्दीप खवासलाई गत आइतबार दोषी ठहर गरेको थियो।

सजाय निर्धारणका लागि बिहीबारलाई पेसी तोकिएको थियो। सहकारीका अध्यक्ष शर्मालाई ६ वर्ष कैदको फैसला भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार सचिव न्यौपाने र प्रबन्धक खवासलाई जनही २ वर्ष २ महिना कैद सजायको फैसला भएको छ। अध्यक्ष शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २ सय ६८ रुपैयाँ बिगो र त्यही बराबर जरिबाना हुने पनि फैसला भएको जानकारी बुढाथोकीले दिए। अदालतको फैसला अनुसार शर्माले थप २ करोड ७० लाख ३६ हजार ८ सय ५० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने भएको छ।

त्यस्तै, खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिबानाको फैसला भएको छ। उनले पीडित राहत कोषमा १ लाख ८ हजार जम्मा गर्नुपर्ने फैसला भएको सूचना अधिकारीले बुढाथोकीले बताए। उनका अनुसार सचिव न्यौपानेको हकमा भने बिगो र जरिबाना तोकिएको छैन। पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ। ३ वर्षभन्दा माथि कैद सजायको माग दाबी गरिएको मुद्दामा कसूर कायम र सजाय निर्धारण अलगअलग समयमा हुन्छ। कसूर कामय भएको १ महिनाभित्रमा सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ।

अदालतले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई भने सफाइ दिएको थियो। फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुलतबीमा राखिएको छ। उनीहरू अदालत उपस्थित भइसकेपछि मुद्दा जगाएर अदालतले थप प्रक्रिया अघि बढाउने छ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसूरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।