Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तुलसी बहुउद्देश्यीय सहकारीमा झन्डै डेढ अर्ब रुपैयाँ हिनामिना पुष्टि

२०८२ जेष्ठ १९ गते

बैंकिङ खबर/ विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको झन्डै डेढ अर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित तीन जनालाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । मोरङ अदालतले आइतबार सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई सहकारीको बचत हिनामिनामा दोषी ठहर गरेको हो ।

उनीहरूमाथि दण्ड सजाय निर्धारणका लागि भने अर्को सुनुवाइ हुने भएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले कसुर ठहर गरेको हो । अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।

विराटनगरमा केन्द्रीय कार्यालय भएको यो सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा स्थापना गरेर बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ । दोषी ठहर भएका तीनै जनालाई यसअघि नै पुर्पक्षका लागि मोरङ कारागारमा पठाइएको छ ।

विराटनगर महानगरपालिका–२ मा मुख्य कार्यालय रहेको सहकारीको देशैभरि सदस्य संख्या २१ हजार ७१३ रहेको र त्यसमध्ये विराटनगरमा मात्रै चार हजारभन्दा बढी छन् ।

अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अदालतमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ । उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिबाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको थियो ।