Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तरलता व्यवस्थापनमा सकसः एकैदिन ८० अर्ब खिच्दै राष्ट्र बैंक

२०८२ जेष्ठ १४ गते


बैंकिङ खबर/बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटक-पटक प्रणालीबाट पैसा तान्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ८० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत वैशाख २४ गते राखेको ३१ अर्ब ६५ करोड परिपक्क भएपछि केन्द्रीय बैंकले थप ८० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो ।

बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि जम्मा गरेको १ खर्ब ६१ अर्ब ३५ करोड अझै परिपक्क हुन बाँकी छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति असार ४ गते निरण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले गत आइतबार पनि ३० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा २० बैंक तथा वित्तीय संस्थाले ६६ अर्ब ४० करोड जम्मा गर्न चाहेका थिए । जसमध्ये राष्ट्र बैंकले मागेजति ३० अर्ब मात्र लिएको थियो । जसको औसत ब्याजदर २.९६ प्रतिशत कायम भएको थियो । जेठ महिना लागेपछि मात्रै केन्द्रीय बैंकले ३ पटकमा गरेर १ खर्ब ६० करोड तरलता प्रशोचन गरिसकेको छ ।