
बैंकिङ खबर/ सहकारी रकम अपचलन प्रकरणमा एमाले नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमालेको पेसागत विशेष प्रदेश कमिटीका सदस्य कृष्ण अर्याल छन् ।
उनी एमाले पर्यटन विभाग सदस्य एवं उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्ज समेत हुन् । अदालतको फैसला कार्यान्वयनका लागि ललितपुर महानगरपालिका–३ सानेपा बस्ने अर्याललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
उनले सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले रकम भुक्तानी गर्न आदेश दिएको थियो । सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनी आफैं सञ्चालक समितिमा रहेर सहकारी संस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए । सहकारीले पटक-पटक ऋण तिर्न लिखित एवं मौखिक आग्रह गर्दा पनि उनले साँवा र ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले २०८० असार २७ गते रकम भुक्तानी गर्न अर्यालको नाममा आदेश दिएको थियो । अदालतले उनलाई १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने सुनाएको थियो । तर, उनले हालसम्म रकम भुक्तानी गरेका थिएनन् ।




