Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अन्ततः विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?

२०८२ जेष्ठ ६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्वनाथ पौडेललाई नियुक्त गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको हो ।

लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

को हुन् डा.विश्व पौडेल ?

डा.पौडेललाई देउवाका विश्वास पात्रका रुपमा लिने गरिन्छ । यसअघि देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । पौडेलको देउवा पत्नी आरजु राणासँग व्यक्तिगत रूपमा समेत राम्रो सम्बन्ध भएको बताइन्छ ।

ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कूल सञ्चालनमा छ । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । डा. पौडेल विभिन्न विषयमा सञ्चारमाध्यममा गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख र जर्नल प्रकशित गर्दै आएका छन्। पौडेल नेपालको आर्थिक इतिहास बारे जानकार मानिन्छन्।

डा. पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए। उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्। डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन्।

उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका थिए। त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन्।