
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा भेट भएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै संसद् बैठकमा राखिएको प्रश्नोत्तर कार्यक्रम नै स्थगित गरेका उनले वालुवाटारमै देउवासँग भेट गरेका हुन् ।
दुई जनाको भेट पश्चात गभर्नर सिफारिस समितिले बैठक बोलाएको छ । समिति गठन भएको लामो समयसम्म एउटा समेत बैठक बस्न नसकेको उक्त समितिले दुई अध्यक्षबीच भेटवार्ता भएसँगै बैठक बोलाएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको समितिको बैठक आज अपराह्न सिंहदरबारमा बस्ने भएको हो । अहिले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति रहेको छ । गभर्नर बन्ने तरखरमा सिफारिस नेपाली कांग्रेसको तर्फबाट समितिका सदस्य डा.विश्व पौडेलले नै वैशाख २६ गते राजीनामा दिएर बसेका छन् ।
प्रधानमन्त्री ओली र देउवाबिच सोमबार साझ नै भेट्ने समय तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।




