
बैंकिङ खबर/ सरकारले आज गभर्नर नियुक्ति गर्ने सम्भावना न्यून देखिएको छ । आजको मन्त्रिपरिषद्मा गभर्नर नियुक्तिको विषय अघि बढाउने सम्भावना रहेको भनिएपनि आज छनोट समितिको बैठक बस्न सकेको छैन ।
नेपाली कांग्रेसको भागमा परेको गभर्नरको बिषयमा अन्तिम नामावली छनोट भईसकेको हुँदा आजको मन्त्रिपरिषदमा गभर्नर नियुक्तिको विषय अघि बढ्ने देखिएको थियो । तर गभर्नर छनोट सिफारिस समितिको बैठक नबोलाइएको कारण आज नै गभर्नर नियुक्ति प्रकृया अघि बढ्ने बिषय भने अन्यौलमा परेको छ ।
अहिले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति रहेको छ । गभर्नर बन्ने तरखरमा सिफारिस नेपाली कांग्रेसको तर्फबाट समितिका सदस्य डा.विश्व पौडेलले नै वैशाख २६ गते राजीनामा दिएर बसेका छन् । मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजेका लागि बोलाइएको छ । सोही बैठकले गभर्नर नियुक्ति गर्ने अपेक्षा गरिएको छ । तर, गभर्नर छनोट सिफारिस समितिको बैठक नबोलाइएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
आज बैठक बस्छ कि बस्दैन भन्ने समेत निश्चित नभएको सचिवालयको भनाइ छ । समितिको बैठक अर्थमन्त्रीले बोलाउनुपर्छ । बैठक बसेर निर्णय गर्न समय नलागे पनि प्रस्तावित नाममाथि सदस्य सहमत नभएमा यसले समय लिन सक्छ ।




