December 20th, 2016

देवघाटमा पहिलोपटक पुग्यो ज्योति विकास बैंकको एटीम सेवा

पवित्र धार्मिक तिर्थस्थल तनहुँ र चितवनको सिमानामा पर्ने देवघाटमा पहिलो पटक एटीम सेवा सुरु भएको छ । जेष्ठ नागरिकहरुलाई सहज रुपमा बैकिङ्ग कारोबार सेवा दिने उद्देश्यले ज्योति विकास बैंक भरतपुर शाखाले देवघाटमा रहेको एक्टेसन काउन्टर मार्फत पहिलो पटक एटीम सेवा सुरु गरेको हो । एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुवँर, महेश सस्कृति गुरुकुलका प्रचार्य डा.गुरुप्रसाद सुवेदी  र देवघाट गाविसका सचिव बुद्धिप्रसाद भुषालले संयुक्त रुपमा रिबन काटेर उक्त एटीएम सेवाको शुभारम्भ गरेका हुन् । 

५ बर्ष अगाडि पहिलो पटक देवघाटमा बैकिङ्ग कारोबार सुरु गरेको बैंकले सामाजिक उत्तरदायित्वसँगै जेष्ठ नागरिकहरु र धार्मिक पर्यटकहरुको सहजताका लागि पहिलो पटक एटीम सेवा सुरु गरेको ज्योति विकास बैक भरतपुर शाखाका प्रमुख तपेन्द्र विष्टले बताए । 

सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कुवँरले सामाजिक सेवासँगै ग्रामिणस्तर निम्न वर्गका जनताको सहजताका लागि बैकिङ्ग सेवा पहुचमा पुर्याउन आफुहरु सँधै प्रयासरत रहेको बताए । साथै धार्मिक क्षेत्र र जेष्ठ नागरिकहरुलाई समेत सहज रुपमा बैंकमा बचत गरि पैसा झिक्न सहज होस् भनि देवघाटमा पहिलो पटक एटीम सेवा सुरु गरेको समेत उनले प्रष्ट पारे । यस्तै बैंकले छिटै अर्को धार्मिक पर्यटकीय स्थल प्युठानको स्वर्गद्धारीमा समेत एक्टेसन काउन्टरसहितको एटिम सेवा सुरु गर्ने उनले जानकारी गराए । एक अर्ब चुक्तापुँजी नाघिसकेको बैकले छिटै ६ वटा शाखा विस्तार गर्ने जानकारी उनले गराए । 

बैंकले हाल देशभरका विभिन्न २९ वटा शाखा मार्फत आफ्नो सेवा दिँदै आएको छ । बैकले ८ देखि १५ प्रतिशतसम्म व्याजदरमा लगानी गर्दै आएको छ । यस बैंकले ८ प्रतिशत ब्याज दिने गरेको बैंकका डिजिएम हेमराज रानाभाटले बताए ।