२०८२ बैशाख २३ गते

एटीएम प्रयोग गर्दा समस्या भएमा सेवा प्रदायकलाई तत्कालै जानकारी गराऔंः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा समस्या भएमा सेवा प्रदायकलाई तत्कालै जानकारी गराउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले मंगलबार एक वित्तीय सन्देश जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई एटीएमको कारोबारसम्बन्धी तत्काल सहायता आवश्यक परेमा, आफ्नो एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर तथा संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर नेपाली तथा अंग्रेजी दुवै भाषामा स्पष्ट रूपमा राख्नुपर्ने व्यवस्था रहेको छ । तसर्थ, वित्तीय ग्राहकहरूलाई एटीएमसम्बन्धी कारोबारमा केही समस्या भएमा एटीएम रहेको स्थानमा लेखिएको सम्पर्क नम्बरमा सम्पर्क गरी आफ्नो समस्याको जानकारी गराई समस्या समाधानको प्रक्रियामा जान सकिन्छ ।’

साथै, बैंक वित्तीय संस्थाले आफ्नो एटीएममा केही प्राविधिक समस्या आई सञ्चालन हुन नसकेमा सोको जानकारी तुरून्तै सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा तथा आवश्यक परेमा कार्ड जारी गर्ने संस्थामा समेत पुर्‍याउने व्यवस्था गर्नुपर्ने प्रावधान समेत रहेको उल्लेख गरेको छ ।