Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

२०८२ बैशाख १५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई उक्त रकम मुद्दति निक्षेपमा राख्न आवेदन दिन आह्वान गरेको हो। इच्छुक संस्थाहरूले मे १ गते (बुधबार) राति १२ बजेसम्म आवेदन दिनुपर्नेछ।

लगानी गरिएको रकम ३६६ दिनका लागि, अर्थात् मे १७, २०२५ देखि मे १७, २०२६ सम्म मुद्दती राखिने राष्ट्र बैंकले जनाएको छ।

सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ५७ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न सक्नेछन् ।

राष्ट्र बैंकले निक्षेप स्वीकार गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर समेत पेश गर्नुपर्ने जनाएको छ।

निक्षेप स्वीकार गर्न चाहने संस्थाले केही सर्तहरू पूरा गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ।

तोकिएको न्यूनतम पूँजीकोष कायम हुनुका साथै निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशतभन्दा बढी नहुनुपर्नेछ। साथै, संस्थाले तोकिएको समयभित्रै प्रस्ताव पेश गर्नुपर्नेछ।