
बैंकिङ खबर/ काभ्रेपलाञ्चोक जिल्लाका दुई सहकारी संघले आफ्ना सदस्य संस्थाहरूलाई सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था, वर्तमान अवस्था, भावी कार्यदिशा साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ को सम्बन्धमा सूसुचित गराएका छन् ।
सरकारद्वारा सहकारी ऐन २०७४ का केही प्रावधानहरु थप तथा संशोधन र नेपाल राष्ट्र बैंकले सहकारी ऐन २०७४ को दफा ३ बमोजिम स्थापित सहकारी संस्थाहरूका लागि २०८१ चैत्र २१ गते जारी निर्देशन तथा मापदण्डका व्यवस्थाहरुको बारेमा सदस्य संस्थालाई जानकारी गराइएको हो ।
जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोक जिल्ला बचत संघ काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा भएको एक दिवसिय अन्तरक्रिया कार्यक्रममा नियमन प्राधिकरण, सहकारी मापदण्ड र निर्देशनका कानुनी पाटोहरुको बारे छलफल भएको थियो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका कानुनी पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सहकारी नियममा बस्दा र नियमित सुपरिवेक्षण, अनुगमन र नियमन हुँदा समस्या नहुने तर्क गर्दै उनले यसका विविध पक्षबारे जानकारी दिए ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकालले प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था र भावी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल राष्ट्र बैंकबाट जारी गरेको निर्देशन र मापदण्डले सहकारी संस्थाहरुलाई पर्ने प्रभाव सम्बन्धी जिल्ला बचत संघ काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालको प्रस्तुतिकरण रहेको थियो ।
सोही कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थलगायत सहकारीकर्मीहरूले मापदण्ड र निर्देशनका केही प्रावधानहरूले समस्या पर्ने भएपनि सहकारी क्षेत्रलाई बलियो र मर्यादित बनाउनको लागि यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए ।
जिल्ला संघ र बचत संघमा आबद्ध जिल्लाभरका प्रारम्भिक सहकारी संस्थाका सहभागी अध्यक्ष र व्यवस्थापन प्रमुखहरुले सहकारी ऐन र राष्ट्र बैंकबाट जारी निर्देशनसँग बाजिएकाले कार्यान्वयनमा केही समस्या देखिएकाले यसको समाधानका उपायहरुको खोजी गरेका थिए ।