April 18th, 2025

डा.गुणाकर भट्टको पक्षमा सरकारको सहमति, राष्ट्र बैंकले विज्ञ गभर्नर पाउने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको १८औं गभर्नर कसले लिने भन्ने विषयले गठबन्धनमै संकट पर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा.गुणाकर भट्टलाई गभर्नर बनाउने अन्ततःसहमती भएको छ ।

गभर्नर बन्ने पक्का भएसँगै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा.भट्टले राजीनामा समेत दिइसकेका छन् । गठबन्धनमै संकट पर्ने भएसँगै यस विषयमा सत्ता पक्षबीच सहमती भएको बुझिएको छ । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो ।

सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन । बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो ।

यसैबीच बिहीबारको कांग्रेस पदाधिकारीसँगको बैठकमासभापति देउवाले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसको सिफारिसमा बनाउन तयार भएको जानकारी गराएका थिए। कांग्रेसका ती पदाधिकारीका अनुसार गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्टलाई अघि बढाउने सहमति भएको छ। ‘कुनै ठुलै परिघटना भएछ भने फरक कुरा हो, नभए भट्टलाई गभर्नर बनाउने सहमति भएको छ,’ ती पदाधिकारीले भने।

अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ । त्यसपछि मन्त्रीपरिषद्को बैठक डाकेर भट्टलाई गभर्नर नियुक्त गर्ने योजना छ।

गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले उनलाई डाकेर भेटिसकेका छन्। गभर्नरका लागि नेपाल राष्ट्र बैंकलेले केही योग्यताहरु तोकेको छ । नेपालको नागरिकका साथै उच्च नैतिक चरित्र आवश्यक पर्छ ।

राष्ट्र बैंकले विज्ञ गभर्नर पाउँदै

गभर्नरका बलिया दाबेदार हुन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्ट । सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सिँधा पहुँच भएका भट्ट कांग्रेसको भागमा गभर्नर परेसँगै गभर्नर बन्ने पक्का भएका हुन् ।

देउवाले भट्टको परिवारले लगाएको एउटा गुन तिर्नुपर्ने बताउँदै आएको र उक्त गुन तिर्न गुणाकरलाई एउटा नियुक्त दिनुपर्ने बताउँदै आएका थिए ।

भट्टले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका हुन् । भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भएका हुन् ।
उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् । भट्ट अर्थशास्त्र स्नातकोत्तरका गोल्ड मेडलिस्ट हुन् ।
नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि देउवाले भट्टलाई बोर्डको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव अस्वीकार गरेका भट्टको चासो गभर्नरमा थियो ।

राष्ट्र बैंकको शक्तिशाली विभागका कार्यकारी निर्देशक भएर काम गरेका उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए ।

भट्ट धितोपत्र बोर्डको सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् । उनले राष्ट्र बैंकमा नियमन, बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान र भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरिसकेको छन् ।

अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी उच्च नैतिक चरित्र भएका सालिन र नम्र स्वभावका छन् । राष्ट्र बैंकमा अर्थशास्त्री नेतृत्व नहुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको आम बुझाइ छ, यस्तो अवस्थामा राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका भट्टलाई गभर्नर पाउँदा देशको अर्थतन्त्र थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

उसो त गभर्नर बन्न नेपाली कांग्रेसनिकट मानिने राष्ट्र बैंकका सञ्चालक डा. रवीन्द्र पाण्डे, कार्यकारी निर्देशक डा. भट्ट, नबिल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना लबिङमा थिए ।

एमालेनिकट मानिने राष्ट्र बैंक डेपुटी गभर्नर डा. निलम ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रकाशकुमार श्रेष्ठ, राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि गभर्नर बन्ने दौडमा थिए। यस्तै पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई पनि अघि बढाइएको थियो ।
प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर निलम ढुंगानालाई गभर्नर बनाउने संकेत गरेका थिए। गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारले निलमलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ।

सत्ता गठबन्धनमै खटपट हुने देखिएपछि प्रधानमन्त्री ओली कांग्रेसले सिफारिस गरेको राष्ट्र बैंककै विवादरहित क्याडरलाई गभर्नर बनाउन सहमत भएको स्रोतको दाबी छ। दुई दलबीच डा.भट्टलाई गभर्नर बनाउने सहमति भएकाले अब प्रक्रिया अघि बढाएर गभर्नर नियुक्ति गर्ने तयारी छ। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले गभर्नर नियुक्ति चाँडै गर्ने बनाइ सकेका छन् ।

नेपाल राष्ट्र बैंकले तय गर्ने मौद्रिक नीतिका कारण मुलुकको अर्थतन्त्रको दिशा निर्धारण हुने भएकाले गभर्नर पद महत्त्वपूर्ण मानिन्छ। राष्ट्र बैंक सरकारको पनि आर्थिक सल्लाहकार हो।

गभर्नरले अर्थतन्त्रमा देखिएको सुस्ततालाई गति दिँदै वित्त नीति र मौद्रिक नीतिबीच सन्तुलन कायम गर्न सक्नुपर्छ। अर्थतन्त्रमा आउने चुनौतीलाई नियन्त्रणमा राख्दै निजी क्षेत्रको मनोभावना बुझेर बजारको आवश्यकता अनुसार नीति लिनुपर्ने जिम्मेवारी राष्ट्र बैंकको हो।

यी विभिन्न विषयलाई सही ढंगले अघि बढाउन सक्ने अर्थतन्त्रका लागि अति संवेदनशील मानिएको नेपाल राष्ट्र बैंकको गभर्नर बैंकिङ तथा अर्थ क्षेत्रको ज्ञाता हुनुपर्छ। यसर्थ, डा.भट्ट अर्थशास्त्रका विज्ञ मानिन्छन् ।