April 18th, 2025

डा.गुणाकर भट्टले पदबाट दिए राजीनामा, सिफारिस समितिको बैठक बस्दै

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएका हुन् । यता राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेको बताइएको छ । राजीनामा पत्र बोकेर भट्ट शुक्रबार बिहान साढे १० बजे गभर्नरको कार्यकक्षमा पुगेका थिए । तर, कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी छिन् ।

यद्यपी नेपाल राष्ट्र बैंक ऐनले ‘गभर्नर नियुक्तिको प्रयोजनका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्छ’ भनेको छैन। गभर्नर नियुक्त भएपछि कार्यकारी निर्देशकबाट स्वत: राजीनामा गरेको मानिन्छ। सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो। सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन।

बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो। अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले संभवत आजै भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ। त्यसपछि मन्त्रीपरिषद् बैठक डाकेर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारी छ।

गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले उनलाई डाकेर भेटिसकेका छन्। गभर्नरका लागि नेपाल राष्ट्र बैंकले केही योग्यताहरु तोकेको छ। नेपाली नागरिकका साथै उच्च नैतिक चरित्र आवश्यक पर्छ। यसबाहेक आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र गणित वा कानुन बिषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्छ।

कार्यअनुभवका रुपमा कानुनले-सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी तहको पद वा त्यो सरहको पद वा मर्यादाक्रमको हिसाबले त्यो पदभन्दा उच्च पदमा काम गरेको अनुभव सम्झनु पर्छ भनेको छ।