
बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले पूर्वअर्थमन्त्रीहरुलाई अर्थ मन्त्रालयमा बोलाएर नयाँ बजेट निर्माणबारे छलफल गरेका छन्। पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशशरण महत, वर्षमान पुन, जनार्दन शर्मा, डा. बाबुराम भट्टराई, डा. प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग पौडेलले छलफल गरेका हुन्।
सहभागी डा. महतका अनुसार आगामी आर्थिक वर्षको योजना तर्जुमाबारे छलफल भएको थियो। आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा प्रस्तुतीकरण भएको उनले बताए।
अर्थ मन्त्रालयले आगामी बजेटको कार्यादेश र प्राथमिकता, वित्त सन्तुलन कायम गर्न अपनाउनुपर्ने वित्त नीति र बजेट अनुशासनका प्रबन्धहरु, स्रोत परिचालनका उपाय, आयोजना व्यवस्थापनमा गर्नुपर्ने सुधार, सामाजिक सुरक्षा खर्चको दीगोपनाका लागि लिनुपर्ने नीति,, वित्तीय संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय, खर्च कटौतीका व्यावहारिक उपाय, निजी क्षेत्रको मनोबल बढाउन तथा लगानी प्रवर्द्धनका लागि तत्काल गर्न सकिने सुधार र विषय क्षेत्रगत सुझाव पूर्वअर्थमन्त्रीहरुसँग मागेको थियो। तिनै विषयमा केन्द्रित भएर पूर्वअर्थमन्त्रीहरुले अर्थमन्त्री पौडेललाई आआफ्नो सुझाव दिएको अर्थ मन्त्रालयले जनाएको छ।