April 16th, 2025

बैंकिङ प्रणालीमा अधिक तरलताः थप ३० अर्ब उठाउँदै राष्ट्र बैंक

बैंकिङ खबर/बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले फेरि एक पटक निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ । तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले बुधबार २१ दिन अवधिका लागि यो रकम संकलन गर्न सार्वजनिक सूचना जारी गरेको हो ।

राष्ट्र बैंकले दिएको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आज (बुधबार) दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा भाग लिन सक्नेछन् । निक्षेप संकलन उपकरणअन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।

बोलकबोलको प्रक्रिया बहुब्याजदर प्रणालीमा आधारित रहने छ भने संस्थाहरूले आ–आफ्नो प्रस्तावित ब्याजदरअनुसार प्रतिस्पर्धा गर्नुपर्नेछ । राष्ट्र बैंकले यो उपकरणमार्फत संकलन गरिने रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था रहेको उल्लेख गरेको छ ।

66.-DC_NOtice-2082.01.03