बैंकिङ खबर/तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कँदै छन्। प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो।
नी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए। चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो। यस्तै प्रसाईंले बैंकवित्तविरुद्ध ऋण नतिर्ने अभियान चलाइ रहेका छन् । उनले बुधबार पनि भिडियो अपलोड गर्दै आफ्नो लगाईं बैंक, लघुवित्त, सहकारीविरुद्ध रहेको बताएका थिए ।
सचिवालयको दाबी – आत्मसमर्पण हो
प्रसाईंको सचिवालयले भने उनले आत्मसमर्पण गरेको दाबी गरेको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’
दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेको छ । सो समितिका प्रवक्ता स्वागत नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयोजक प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेका हुन् ।
विज्ञप्तिमा प्रवक्ता नेपालले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित प्रसाईंले नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि असामको गुहावटीबाट नेपालको सीमासम्म ल्याइपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।
प्रसाईंले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नुभएको समेत विज्ञप्तिमा भनिएको छ ।




