बैंकिङ खबर/ विमस्टेक बैठकका लागि थाइल्यान्ड जानुअघिनै १८ औं गभर्नर नियुक्ति टुंग्याउने भने पनि राजनीतिक भागवण्डा नमिल्दा प्रधानमन्त्री केपी ओलीले गभर्नर नियुक्ति टुंग्याउन सकेका छैनन् । यद्यपी प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ गते मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ । साथै, केही महत्त्वपूर्ण नियुक्ति, बढुवा तथा नीतिगत निर्णयहरू समेत हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओली मंगलबारदेखि चार दिनको (चैत १९ देखि २३ सम्म) थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।
यता गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गतेसम्मका लागि मात्रै छ । नयाँ गभर्नर नियुक्ति गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनीसकेको छ ।
गत चैत ११ गते सोमबार अर्थमन्त्री पौडेललको संयोजकत्वमा समिति बनाएको हो । समितिको सदस्यमा विजयनाथ भट्टराई र डा. विश्व पौडेल छन् । भट्टराई पूर्व गभर्नर हुन भने पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।
समितिले कम्तिमा एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका ३ मध्ये १ जनालाई मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्त गर्नेछ ।
सम्भवत आजै अर्थात् सोमबार (चैत १८ गते ) बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नरको टुंगो लगाउने छ । आजको बैठकले गभर्नर नियुक्ति नगरेमा भने प्रधानमन्त्रीको भ्रमण सकिएपछि मात्र राष्ट्र बैंकले गभर्नर पाउने छ ।
हाल राष्ट्र बेंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिमिल्सना, डा.प्रकाश कुमार श्रेष्ठ, नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना, डा.गुणाकर भट्ट लगायतको नाम चर्चामा छ । मूलतः नीलम, प्रकाश श्रेष्ठ र ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस हुन सक्ने प्रवल सम्भावना रहेको बताइएको छ ।